काठमाडौं — जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकले लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज रायमाझीलाई ‘काभ्रेपलाञ्चोक जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३’ बाट सम्मानित गरेको छ।
संस्थागत व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, वित्तीय अनुशासन र सुशासन कायम राख्न पुर्याएको उत्कृष्ट योगदानको उच्च मूल्यांकन गर्दै जिल्ला सहकारी संघले रायमाझीलाई उक्त पुरस्कार प्रदान गरेको हो।
पनौती नगरपालिका–५, चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा रायमाझी २०७२ पुस १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। काभ्रेपलाञ्चोकको तत्कालीन भीमखोरी (हाल रोशी गाउँपालिका–११) मा प्रारम्भिक र माध्यमिक शिक्षा पूरा गरेका रायमाझीले व्यवस्थापन विषयमा स्नातकोत्तर (Masters in Management) सम्मको अध्ययन पूरा गरेका छन्।
आफ्नो एक दशक लामो व्यावसायिक यात्रामा उनले संस्थाको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्दै बचत तथा ऋण व्यवस्थापन, जोखिम न्यूनीकरण, नियामकीय अनुपालन, सूचना प्रविधिको प्रयोग र कर्मचारी क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। सदस्यकेन्द्रित सेवा र प्रविधिमैत्री कार्यप्रणालीलाई प्राथमिकतामा राखेर संस्थाको साख जोगाउन र व्यावसायिक पारदर्शिता कायम गर्न उहाँको योगदान अतुलनीय रहेको छ।
व्यक्तिगत जिम्मेवारीका साथै समग्र सहकारी अभियानमा पनि उत्तिकै सक्रिय रायमाझी ‘को-अपरेटिभ म्यानेजर्स क्लब’ (Cooperative Managers Club, Kavrepalanchok) का पूर्व कोषाध्यक्ष समेत हुन्।
यसअघि जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट ‘उत्कृष्ट व्यवस्थापन प्रमुख २०८०/०८१’ बाट सम्मानित भइसकेका रायमाझीले यो नयाँ उपलब्धिलाई आफ्नो व्यक्तिगत सफलता मात्र नभई सञ्चालक समिति, लेखा समिति, सहकर्मी कर्मचारी र समग्र सहकारी अभियानको साझा मेहनतको परिणाम भएको बताएका छन्।